अबुधाबीमा ९८औं युगकवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ति
सर्बदा वाङ्मय प्रतिष्ठान यूएई शाखाले २१ मे २०१० शुक्रवारका दिन अबुधाबी को केराला सोसियल सेन्टरमा युगकवि स्व. सिद्धिचरण श्रेष्ठको ९८औं जन्मजयन्ति मनाउँदै एक कवि गोष्ठीको आयोजना गर्यो ।
भर्खरै यूएईका लागि सहचारीको रुपमा नियुक्त भई आएका नेपाली दूतावासका सुमेशचन्द्र द्विवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम ज्ञात–अज्ञात शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण गरी शुरूआत गरिएको थियो। कार्यक्रम प्रतिष्ठानका यूएई शाखाका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा विभिन्न स्थानबाट आएका साहित्यकारहरूले कविता, गजल तथा लघुकथा आदि वाचन गरे। हेमन्त कँडेल, जाकिर हुसैन, शिशिर परियार, बसन्तमोहन अधिकारी, राजेन्द्र न्यौपाने, जेपी सापकोटा आदिका साहित्यिक प्रस्तुतिहरू निकै आकर्षक थिए।
कार्यक्रममा प्रमुख अतिथि श्री द्विवेदीले युगकविको तस्बीरमा फूलगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा श्री द्विवेदीलाई यूएईको कार्यकालको सफलताको कामना गर्दै प्रतिष्ठानका तर्फबाट फूलगुच्छा अर्पण गर्दै स्वागत गरिएको थियो।
सहभागीहरूलाई शाखाका सदस्य दीपकराज अधिकारीले स्वागत गरे भने उपाध्यक्ष अर्जुन सापकोटाले युगकवि सिद्धिचरण श्रेष्ठले नेपाली साहित्यको क्षेत्रमा गरेको योगदानबारे प्रकाश पारे। युगकविको जीवनकालमा उनीसँग सम्पर्क र उठबसमा रहेका ईमिरेट्स नेवा पूचःका आर. सी. डंगोलले युगकविको दैनिक जीवन र व्यवहार अनि साहित्यमा उनको लगावबारे अनुभव सुनाए।
यूएईमा प्रथमपटक युगकविको जन्मजयन्ति मनाउने श्रेय पाएको सर्बदा वाङ्मय प्रतिष्ठान यूएई शाखाको सो कार्यक्रममा प्रवासी नेपाली पत्रकार सञ्जालका संयोजक तथा नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसैन, आदीबासी जनजाति महासंघ यूएईका अध्यक्ष भुवन राई, किरात राई यायोक्खा यूएईका अध्यक्ष कटक राई, नेपाली जनप्रगतिशील मञ्च, यूएईका महासचिव श्याम परियार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरका महासचिव गिरधारी रिजाल, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईका कोषाध्यक्ष जेपी सापकोटा र विभिन्न साहित्यकारहरूले युगकवि सिद्धिचरण श्रेष्ठ र नेपाली साहित्यको बारेमा धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि द्विवेदीले आफू यूएईमा आएर पनि यहाँका संघ–संस्थाहरूबीच भाइचारा भएको देखेको र हामी जहाँ गएपनि हामी नेपालीहरूबीच नेपालीको पहिचान र आपसी भाइचाराको भूमिका अपरिहार्य भएको बताउँदै नेपाली दूतावासले सधैं अभिभावकीय भूमिका निभाउँछ र हामी सधैंभरि तपाईंहरूको सहयोगका निम्ति तयार छौं। तपाईंहरूको पनि सहयोगको जरुरत दूतावासलाई पर्छ।
अनेसास यूएई च्याप्टरका महासचिव गिरधारी रिजालले भने, “साहित्यकारहरू संस्थागत रूपमा भिन्न भएपनि भावनात्मक रूपमा एक हनुपर्छ। उनीहरूबीच सहकार्य र कार्यगत एकता हुनुपर्छ।”
कार्यक्रमको अन्तमा बोल्दै अध्यक्ष सापकोटाले युगकविको नेपाली साहित्यमा ठूलो देन रहेको बताउँदै गत १४ मई २०१० का दिन अनेसास यूएई च्याप्टरको नाममा यूएईमा रहेका अन्य चारवटा साहित्यिक संस्थाहरू एकीकृत भएको अनेसासमा निर्वाचित पदाधिकारीहरूलाई बधाई दिए।